Saturday, May 23News That Matters

मोरङमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ २०

मोरङमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालमा एक जनाको र एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका ४ की ६४ वर्षीया महिलाको कोशी अस्पतालमा हिजो बेलुकी मृत्यु भएको थियो । उनको आज बिहान पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल भर्ना गरिएको थियो । आइसोलेशनमा भर्ना गरेर उपचार भैरहेकोमा साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर–११ की ४३ वर्षीया संक्रमित महिलाको हिजो बेलुकी मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रेफर भएकी महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा चार वर्ष देखि मुटु र उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । जसमा १२ जना प्रदेश २ घर भएका छन् ।