
पूर्णपुष्टि, जेष्ठ १०
मोरङमा ११ कोरोना संक्रमितको ज्यान गएको छ । अस्पतालमा उपचारको क्रममा १० जना र होम आइसोलेसनमा १ जना गरी ११ संक्रमितको ज्यान गएको हो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा ३, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा ४ र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जनाको ज्यान गएको छ ।
साथै सुन्दरहरैंचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा ज्यान गएको छ । विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको ज्यान गएको हो ।
विराटमा विराटनगर महानगरपालिका–४ की ५४ वर्षीया महिलाको ज्यान गएको छ । २२ वैशाखमा भर्ना भएकी महिलाको आज बिहान ज्यान गएको हो । विराटनगर–३ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराटमै ज्यान गएको छ । जेठ ८ गते भर्ना भएका वृद्धको गएराति १ः५० बजेतिर ज्यान गएको हो ।
आइतबार दिउँसो झापा भद्रपुरका ५१ वर्षीय र सुनसरीको दुहबी नगरपालिका–११ का ४६ वर्षीय पुरुषको ज्यान गएको थियो । दुहबीका पुरुष वैशाख २८ गते अस्पताल भर्ना भएका थिए । भद्रपुरका पुरुष आइतबार नै भर्ना भएका थिए ।
नोबेलमा मोरङको उर्लाबारी नगरपालिका–९ की ५८ वर्षीया महिलाको ज्यान गएकोे छ । उपचारका क्रममा उनको बिहान ९ः४० बजेतिर ज्यान गएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।
संखुवासभाको खाँदबारी नगरपालिका–२ की ४५ वर्षीया महिलाको ज्यान गएकोे छ । वैशाख ३१ गते भर्ना भएकी उनको आज बिहान ४ बजे ज्यान गएकोे हो ।
धनुषाको मिथिला नगरपालिका–११ घर भई विराटनगर–४ मा बस्दै आएका ७२ वर्षीय वृद्धको पनि ज्यान गएकोे छ । जेठ ३ गते भर्ना भएका उनको आज बिहान ४ः१५ बजेतिर ज्यान गएको हो ।
कोशी कोभिड–१९ अस्पतालमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६० वर्षीय पुरुषको ज्यान गएाको छ । उनी जेठ ३ गते भर्ना भएका थिए । यस्तै सोही अस्पतालमा आइतबार दिउँसो विराटनगर महानगरपालिका–९ का ७६ वर्षीय पुरुष र झापा गौरीगञ्जकी ८४ वर्षीय महिलाको ज्यान गएको थियो ।
विराटनगरका वृद्ध जेठ ५ गते अस्पताल भर्ना भएका थिए । झापाकी वृद्धा वैशाख ३० गते भर्ना भएकी थिइन् ।
सुन्दरहरैंचा नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको बिहान ६ः३० बजेतिर होम आइसोलेसनमा ज्यान गएको छ । जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै बसेकी थिइन् ।
