Thursday, June 11News That Matters

यस वर्षको फूलपाती बढाइँ साङ्केतिक

पूर्णपुष्टि, असोज २४

कोरोना महामारीको कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिक रुपमा मात्र आयोजना गरिने भएको छ  ।
नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ ।

यस वर्ष फूलपाती आगामी कात्तिक ७ गते शुक्रबार परेको छ । कोरोना सङ्क्रमणले गर्दा हर्षोल्लासका साथ नभइ धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन  प्रतिकात्मक रुपमा मात्र बढाइँ गरिने नेपाली सेनाले जनाएको छ ।
स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङ्केतिक रुपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना रहेको जनाईएको छ । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४÷८४ जनाको गुल्मले बढाइँ गथ्र्यो भने यस पटक सामाजिक दूरी कायम गरी २५÷२५ जनामा सीमित गरिएको छ । बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुनुहुनेछ ।

विगतको जस्तो धेरै कार्यक्रम नगरि छोटो बढाइँ र टुकडीले सैनिक ब्याण्ड प्रदर्शनी गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । विगतमा सेनाबाहेक १÷२ हजारको सङ्ख्यामा विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकोमा यस पटक सेनासहित पाहुनाको सङ्ख्या १ सय  जनामा सीमित गरिने छ ।
अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकामा यस वर्ष सहायक रथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको जनाइएको छ । उपस्थित हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।