Sunday, May 17News That Matters

यातायात व्यवसायीले ४० प्रतिशतसम्म भाडा बढाउन माग गर्यो

पूर्णपुष्टि,फागुन ६

सरकारले एक सातामै दुई पटक तेल र सवारीजन्य पार्टपूर्जामा मल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले भाडा बढाउन माग गरेको छ । यातायात व्यवसायीहरुले तेलको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका हो । यातायात व्यवसायीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।

महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ कम्तिमा ३० दखि ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने अवस्था रहेको बताउँछन् । सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै सकेसम्म व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गर्न नभए भाडा बढाउन विभागलाई भनिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक–पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम दिएको छ ।

तर, सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ । एक हप्तामै लिटरमा ४ रुपैयाँ मूल्यवृद्धि भएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले पनि यातायात व्यवस्था विभागसँग भाडा बढाउन माग गरेको छ ।