
पूर्णपुष्टि,, १३ असार ।
बिभिन्न व्यक्तिहरु सँग बाहानावाजीमा पैसा ठगी गर्दै मिटरव्याजीमा लाखौँ पैसा असुली गर्दै आएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२ निवासी सिर्जना खड्काले विभिन्न व्यक्तिसँग करोडौं रकम उठाएर ठगी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
निजगढ, सिमरा, जीतपुर, पथलैया, अम्लेखगञ्ज, हेटौंडा, वीरगञ्ज लगायतका क्षेत्रमा दर्जनौं व्यवसायी, औद्योगिक करिडोरमा कार्यरत मजदुर तथा कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनले ठगेको पाइएको हो । व्याजको लोभ देखाएर दर्जनौं व्यक्तिहरुसँग लाखौं रुपैयाँ उठाएर खड्काले रकम अपचलन गरेको बताइन्छ ।
पछिल्लो समय निजगढ नगरपालिका वडा नं ८ का सुजित घिसिङ्गले खड्कालाई २० लाखको चेक बाउन्स गरेका थिए । सोहीपछि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमार्फत पक्राउ आदेश ल्याएर प्रहरीले गत साता खड्कालाई पक्राउ गरेको हो ।
१०(१२ वर्ष कोरिया बसेर नेपाल फर्किएका घिसिङ्गले सुरुमा आफ्नो बहिनीमार्फत खड्कालाई चिनेको र सापटको रुपमा केही रकम दिएको बताए । ‘सुरुमा त मैले सापटको रुपमा दिएको हो, पछि उनले प्रभावमा पार्न ब्याज थपेर दिइन् । दोस्रो, तेस्रो पटकमा सामान्य गाउँघरमा चलेको ब्याज आउँछ भने ठिकै छ नि भनेर रकम दिएँ तर त्यो रकम फिर्ता आएन, पूरै डुबियो,’ घिसिङले भने, ।
जीतपुर सिमरा वडा नं १ का स्थानीय व्यवसायी टिकादास मुल्मी पनि खड्काबाट ठगिएको बताउँछन् । मुल्मीले अर्का एकजना हार्डवेयर व्यवसायीलाई केही दिनका लागि भन्दै सापटको रुपमा १० लाख रुपैयाँ दिएका थिए । सो रकम समयमा फिर्ता नआएपछि बुझ्दै जाँदा खड्काको हातमा पुगेको पत्ता लागेको मुल्मी बताउँछन् ।
सिमराको एक प्रतिष्ठित सहकारीमा बजार व्यवस्थापकको रुपमा कार्यरत महिलाले पनि खड्काबाट आफू ठगिएको बताएकी छन् । ‘उहाँले पैसा माग्दा मसँग मात्रै मागेको होला जस्तो गरेर प्रभावमा पारेर, एकदमै समस्या देखाएर माग्नुहुन्थ्यो,’ ती महिलाले भनिन्, ‘हामी घरमा सुतेको ठाउँमा बिहान ५ बजेदेखि ढोकामा कुर्ने, रुने, कालोसूचीमा जान लागेँ भनेर चेक र कागजपत्रहरु देखाउने अनि एकै महिनाका लागि हो भनेर समस्या देखाउने गर्नुहुन्थ्यो ।’
जीतपुर सिमरा उपमहानगर– २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले सिर्जना खड्कालाई एकै व्यक्तिले ७ करोड रुपैयाँसम्म लगानी गरेको बताए । ‘आम्दानीको स्रोत नभएको र खासै सम्पत्ति पनि नभएको एउटा महिलालाई कसैले ७ करोड, कसैले साढे ४ करोड, कसैले ३ करोड, कसैले २ करोडसम्म दिएको छ, ४औ ५ जनाले मात्रै २० देखि २५ करोड पैसा लिनु छ भनेर आएका छन्, हामी आफैँ छक्क परेका छौं । यत्रो पैसा उठाएर कहाँ लगानी भएको छ भन्ने पनि पत्तो लागेको छैन,’ वडाध्यक्ष श्रेष्ठले भने ।
ति महिला गुपचुपमा ठगी गर्दै आएको पाईएको छ । देशमा ‘मिटरव्याज’विरुद्ध आन्दोलन सुरु भएपछि उनी सिमरा फर्किएर आफूले पैसा लिएका व्यक्तिविरुद्ध ‘मिटरव्याजी’ को उल्टै उजुरी दिइन् ।
खड्काले जिल्ला प्रहरी कार्यालय बारामा मिटरब्याजीको उजुरी दिएकै आधारमा प्रहरीले उल्टै पीडित पक्षलाई जिल्ला प्रहरी कार्यालय कलैयामा बोलाएर धम्क्याउने, कुटपिट गर्ने, थुन्नेसम्मको काम गरेको पीडितहरुको भनाइ छ ।
वैशाख पहिलो साता जिल्ला प्रहरी कार्यालयका सई सागर राणाले खड्कालाई रकम दिएकाहरुलाई बोलाएर साँवा रकममा पनि घटाएर मिलापत्र गर्न दबाब दिएको पीडितहरु बताउँछन् । जसमध्ये केही व्यक्तिले बाध्य भएर आफ्नो साँवा रकम पनि छोडेर चेक लिएको उनीहरुको भनाइ छ ।
‘पैसा लिएर तिर्न नसकेपछि सिधै मिटरब्याजी भन्दिएपछि तिर्नै नपर्ने रहेछ, प्रहरीले पनि केही नखोज्ने, हामीले सबै प्रमाण लिएर जाँदा पनि प्रहरीले केही हेरेन,’ एक पीडित महिलाले भनिन् ।
सिर्जना खड्का मार्फत २० औं करोडको कारोबार हुँदा उनको बैंकिङ्ग कारोबार, सञ्जालमा को को छन्, उनले उठाएको रकम कहाँ लगानी भएको छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्न चासो नदेखाएको पीडितको गुनासो छ ।
