
पूर्णपुष्टि, पुष ११ । एक वर्षदेखि युक्रेनमा युद्धबन्दी बनाइएका सात नेपालीले सिधै स्वदेश फर्कन अस्वीकार गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूले युक्रेनी अधिकारीसँगको बयानमा पहिले रुस गएर मात्र नेपाल फर्कने इच्छा व्यक्त गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार युद्धबन्दी नेपालीहरूले सिधै स्वदेश फर्किए रुसी सरकारले दिनुपर्ने सेवा र सुविधाबाट वञ्चित हुने भएकाले रुस हुँदै फर्कन चाहेको बताएका छन् । रुसी सरकारले एक वर्षको सेवा अवधिपछि स्थायी आवासीय अनुमति र राहदानीका लागि आवेदन दिन पाइने सुविधा दिने गरेको छ ।
हाल युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीहरूमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, मकवानपुरका ईश्वर लामिछाने, चितवनका सुजन सुवेदी र गोरखाका मदन कुमाल छन् । यी सबैलाई युक्रेनको राजधानी किभमा राखिएको छ र युक्रेनले उनीहरूलाई अन्तर्राष्ट्रिय कानुन अनुसार व्यवहार गरिएको जनाएको छ ।
रुसी सेनामा करिब १,५०० नेपाली भर्ती भएको अनुमान गरिएको छ । यस क्रममा ४९ जनाको युद्धमा मृत्यु भएको पुष्टि भएको छ भने ११८ जनाको खोजीका लागि परिवारले कन्सुलर विभागमा निवेदन दिएका छन् । गत मे महिनादेखि नेपाल सरकारको पहलमा रुसले नेपालीलाई भर्ना लिन रोक लगाएको परराष्ट्र मन्त्रालयको दाबी छ ।
परराष्ट्र मन्त्रालयले युद्धबन्दी नेपालीको रिहाइका लागि जर्मनीस्थित र दिल्लीस्थित नेपाली दूतावासमार्फत पहल गरिरहेको छ । रुसले युद्धबन्दी साटासाटको क्रममा नेपालीहरूलाई फिर्ता ल्याउने आश्वासन दिएको छ । हालसम्म रुस र युक्रेनबीच १,७८८ युद्धकैदी साटासाट भइसकेका छन्। युद्धबन्दी नेपालीहरूमध्ये एक जना घाइते भएका र एक जनाको कान कम सुन्ने बाहेक सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
