
पुर्णपुष्टि, जेष्ठ २८ ।इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन लिगको उपाधि जितेको छ । टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनल खेलमा सिटीले इटली क्लब इन्टर मिलानलाई १–० ले हराउँदै पहिलोपल्ट युरोपको सबैभन्दा ठुलो प्रतियोगिताको उपाधि चुमेको हो ।
सिटीलाई जित दिलाउन रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरे । सिटी युरोपियन च्यम्पियन लिग जित्ने छैटौं इंग्लिस क्लब बनेको छ भने यस जितसँगै सिटीले (तीन मुख्य प्रतियोगिता) ट्रेबल उपाधि जितेको हो । यो सिजन सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ । सिटी ट्रेबल उपाधि जित्ने दोस्रो इंग्लिस क्लब बनेको हो । यस अघि इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले सन् १९९९ मा ट्रेबल उपाधि जितेको थियो ।
सन् २०१६ मा सिटी आएयता प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन लिगको उपाधिको लागी ८ वर्ष कुर्नुपर्यो । सन् २००८ देखि २०१२ सम्म बार्सिलोनालाई २ पल्ट च्याम्पियन्स लिग उपाधि दिलाएका ग्वार्डिओलाको प्रशिक्षक यस सिजन सिटीले उपाधि जितेको हो ।
शनिबार रातिको फाइनल खेल हेर्न सिटीका मालिक शेख मन्सुर पनि रंगशाला पुगेका थिए। सन् २००८ मा क्लबको स्वामित्व ग्रहण गरेयता आबुधाबीका यी शेखले केवल दोस्रोपल्ट सिटीको खेल प्रत्यक्ष हेरेका हुन् ।
सिटी यसअघि तीनपल्ट क्वाटरफाइनल, दुईपल्ट सेमिफाइनल र एकपल्ट फाइनल पुगेर पनि च्याम्पियन्स लिग जित्न असफल थियो ।
