
पूर्णपुष्टि, साउन २४ । अबुधाबीस्थित नेपाली राजदूतावासले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुले मादक पदार्थ सेवन गरेर झगडा गर्ने प्रवृत्ति बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ। साउन २२ गते जारी गरिएको सूचनामा दूतावासले त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको छ।
यूएईका सम्बन्धित निकायले नेपालीहरुले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको जानकारी दूतावासलाई दिएको उल्लेख छ। यसअघि पनि दूतावास परिसरबाहिर मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने, अराजक व्यवहार गर्ने र दूतावासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि समेत अपशब्द प्रयोग गर्ने घटनाहरू भएको दूतावासले जनाएको छ।
सूचनामा उल्लेख भए अनुसार यूएई सरकारका तर्फबाट ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूले दिएको जानकारीका आधारमा यूएई प्रहरीले केही नेपालीहरूलाई कारबाही समेत गरेको छ। दूतावासले यूएईमा बस्ने सम्पूर्ण नेपालीहरूलाई यूएईको ऐन, कानुन, नियम र मूल्यमान्यताको पूर्ण पालना गर्न हार्दिक अनुरोध गरेको छ।
