Saturday, June 6News That Matters

रानीपोखरी पुनर्निमाणको काम सम्पन्न

पूर्णपुष्टि, असोज २४

रानीपोखरी पुनर्निमाणको काम सम्पन्न भएको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको निर्माण सकिएपछि बत्ती जोड्ने र सरसफाइ गर्ने काम भइरहेको छ ।
यो काम केही दिनमा सकिने भएकाले पुनर्निर्मित रानीपोखरी उद्घाटनका लागि तयार हुने राष्ट्रय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाटै गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।

२०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन् । लामो समयको अलमल र विवाद पछि रानीपोखरीलाई मल्लकालीन शैलीमा पुननिर्माण गरिएको हो ।

बालगोपालेश्वर मन्दिर पनि मल्लकालमै रहेको ग्रन्थकुट (शिखर) शैलीमै बनेको छ । त्यसअघि राणाकालमा यो मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो ।
रानीपोखरीलाई प्राकृतिक स्वरुपमा फर्काउन विभिन्न माछाका भुरा पनि लगाउने जनाईएको छ । क्याटफिसबाहेक पोखरीमा उपयुक्त र लेउमा बढी निर्भर हुने माछा लगाउने र पोखरीलाई प्राकृतिक स्वरुपमा फर्काउने जनाईएको छ ।

पुनर्निर्मित दरबार हाईस्कुल र रानीपोखरीको एकैपटक उद्घाटन गर्ने योजना छ । चीनको सहयोगमा दरबार हाईस्कुल भवनको पनि पुनर्निर्माण भएको थियो ।