Saturday, June 6News That Matters

रिडी–रुद्रवेणी सडक खुल्यो

पुर्णपुष्टि, असोज २४

पहिरोले बन्द भएको रिडी–रुद्रवेणी सडक खुलेको छ । वर्षापछि आएको पहिरोले दुई हप्तादेखि बन्द गुल्मीको रिडी–रुद्रवेणी सडक शुक्रबार बेलुकादेखि खुलेको हो ।
सडकमाथिबाट चट्टानसहित खसेको ठूलो पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । पहिरोले दुई सय मिटरभन्दा बढी सडक पुरेकोे थियो । पटक–पटक सुख्खा पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन समय लागेको जनाईएको छ ।

सडक खुलाउन रिडी र रुद्रवेणी दुवैतर्फबाट चार दिनसम्म जेसीभी र एस्काभेटर परिचालन गरिएको थियो । गुल्मीको रिडी, रुद्रवेणी, वामीटक्सार हुँदै बाग्लुङका बुर्तिवाङ्गसम्म गाडी चल्ने गरेका छन् ।
सडक बन्द हुँदा आवतजावत र खाद्यान्न ढुवानीमा समस्या परेको थियो । चाडपर्वका लागि आवश्यक खाद्यान्नसहित गाडी बीच बाटोमै रोकिएका थिए । सडक खुलेपछि दुवै क्षेत्रमा रोकिएका गाडीहरु गन्तव्यतर्फ लागेका छन् ।

रिडी–रुद्रवेणी सडक जिल्लामा सबैभन्दा धेरै गाडी चल्ने व्यस्त सडक अन्तर्गत पर्छ ।