
पूर्णपुष्टि, भदौ १३
रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत वैशाखमै काम सक्नुपर्ने भए पनि करिब १० प्रतिशत काम बाँकी रहेको हो ।
गत चैत ११ गतेदेखि भएको लकडाउनले पूनर्निर्माणको काम अघि बढ्न सकेको थिएन । पुनर्निर्माणको काम अन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुरको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
अहिले ३२ जना कामदारले काम गरिरहेका छन् । आगमी असोजसम्म निर्माणकार्य सक्ने गरी काम भैरहेको प्राधिकरणले जनाएको छ । लकडाउनअघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । गत साउन दोस्रो हप्ता नै पोखरी निर्माणको काम सकिएको थियो । तर पानी राख्न भने समय लाग्ने भएको छ ।
अहिले पोखरीमा आकासको पानी मात्र राखिएको छ । दरबार हाइस्कुल र त्रिचन्द्र कलेजबाट आकाशको पानी सङ्कलन गरी पोखरीमा राखिएको छ । पोखरी भर्न आवश्यक पर्ने पानी कहाँबाट राख्ने भन्नेबारे छलफल भइरहेको जनाईएको छ ।
बोरिङ्मार्फत पानी ल्याउने तयारी भए पनि स्थानीय बासिन्दा र सम्पदा विज्ञहरुको असहमति छ । २०७२ वैशाख १२ गते गएको भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
