
भदौ १६ गते ।
नेपाल राष्ट्र बैंकले ८ अर्ब ६५ करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट ८ अर्व ६५ करोड ५० लाखको ट्रेजरी बिल सोमबार बिक्री गर्न लागेको हो ।
बैँकले विक्रि गर्न लागेको ट्रजरी विल मध्ये ५ अर्ब ५२ करोडको ट्रेजरी बिल १ सय ८२ दिनमा परिपक्व हुनेछ भने ३ अर्ब १३ करोड रुपैयाँको विल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी मंसिर १७ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
यस विलले १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधि (बढीमा एक वर्ष)को स्रोत जुटाउन ट्रेजरी बिल बिक्री गरिन्छ ।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले पनि बोलकबोलमा सहभागी भएर ट्रेजरी बिल किन्न सक्छन् । बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुन्छ भने निष्कासन भोलिपल्ट गरिन्छ ।
यस विलको निश्चित फेस भ्याल्यु (परल मूल्य) हुन्छ । भुक्तानी गर्ने बेलामा त्यही फेस भ्यालुबराबरको रकम दिने सर्तमा सरकारले ट्रेजरी बिल निष्कासन गर्छ ।
बिलको बोल आहृवान गर्दा आहृवान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकम मात्र उल्लेख गर्नु पर्दछ ।
