
पूर्णपुष्टि, चैत १६
आज नेपाल राष्ट्र बैंकले ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
२८ दिने अवधिका लागि झण्डै पाँच अर्बको ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । यो बिल आउँदो वैशाख १४ गते परिपक्व हुनेछ । त्यस्तै १० करोडको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो ।
यो बिल आउँदो असार १५ गते परिपक्व हुनेछ । त्यस्तै एक सय ८२ दिनका लागि तीन अर्ब रुपैयाँ बराबरको बिल बिक्री गरिनेछ । यो बिल आउँदो असोज १२ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले गत चैत ९ गते १५ अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।
