Friday, May 22News That Matters

रुसले बनाएको कोरोना विरुद्धको खोपप्रति डब्लूएचओको प्रश्न

पूर्णपुष्टि, साउन २८

रुसले विकसित गरेको कोरोना विरुद्धको खोपप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रश्न उठाएको छ । रुसले विकसित गरेको खोपबारे जानकारी नभएकाले मूल्याङकन गर्न नसक्ने डब्लूएचओले जनाएको हो ।

कोरोना विरुद्धको खोप बनाउने जो कोहीले पनि डब्लूएचओले सिफारिस गरेको नियम पालना गर्नुपर्नेमा डब्लूएचओका जरबास बारबोसाले बताउनुभयो । यो नियमले कोरोना विरुद्ध बनाइएको भनिएको खोप सुरक्षित रहने उहाँको दाबी छ ।

गत हप्ता डब्लूएचओ रुसलाई कोरोना विरुद्धको खोप बनाउन अन्तराष्ट्रिय मापदण्ड पालना गर्न आग्रह गरेको थियो । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप अबको दुई महिनाभित्र धेरै मानिसलाई दिने तयारी भएको बताउनुभएको छ ।

राष्ट्रपति पुटिनले आफ्नो छोरीलाई पनि खोप दिइएको जानकारी गराउँदै कोरोना विरुद्ध रुसले तयार गरेको खोपको सबै परीक्षण सकिएको दाबी गर्नुभयो ।

कोरोना विरुद्धको खोप स्वीकृत गर्ने रुस पहिलो राष्ट्र बनेको छ । तर वैज्ञानिकले भने तेस्रो पटकसम्म परीक्षण नगरी खोप स्वीकृत गरेको भन्दै विश्वसनीयतामा प्रश्न उठाएका छन् । विश्व स्वास्थ्य संगठनले तीन चरणमा परीक्षण गरिएको ६ वटा खोपको सूची तयार गरेको छ । त्यो सूचीमा रुसले विकास गरेको खोप समावेश छैन ।

विश्वभर अहिले सय भन्दा धेरै खोप पहिलो चरणको परीक्षणमा रहे पनि सन् २०२१ अघि कोरोना विरुद्धको खोप आउनेमा धेरैले शंका व्यक्त गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।