
पूर्णपुष्टि,पुष १०
जनकपुरधामस्थित एक रेष्टुरेन्ट र डिपार्टमेन्ट स्टोरमा आगलागी हुँदा २ लाख ५० हजारको क्षति भएको छ ।
जनकपुरधामको शिवचोकमा रहेको रुफटप रेष्टुरेन्ट र मिथिला डिपार्टमेन्टल स्टोरमा बिहीबार आगलागी हुँदा ३ घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो । धनुषा प्रहरीकाअनुसार विद्युत्को तार सट भई आगलागी भएको हो ।
धनुषा तथा महोत्तरीबाट आएका छ वटा वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर विमानस्थल र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुणयन्त्रबाट आगलागी नियन्त्रणमा आएको हो । जनकपुरधाम उप–महानगरपालिकामा दुईवटा वारुणयन्त्र रहे पनि महिनौँदेखि दुवै बिग्रिएर थन्किएका छन् ।
जनकपुरधाम उप–महानगरपालिका कर्यालयबाट १०० दूरीमा आगलागी भए पनि उप–महानगरले वारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुले भनाई रहेको छ ।
आगलागी हुँदा समयमै वारुणयन्त्र पठाउन नसकेको भन्दै आक्रोशित व्यापारीहरुले जनकपुरधामका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाविरुद्ध केहीबेर नाराबाजीसमेत गरेका थिए ।
