
पूर्णपुष्टि, असोज २५
४० औँ विश्व खाद्य दिवस सप्ताहव्यापी रुपमा मनाईने भएको छ । ‘हाम्रो पहल ः दिगो कृषि, पोसिलो आहार’ नाराका साथ आजदेखि दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग र कृषिका लागि खाद्य अभियानको सहकार्यमा कार्यक्रम गरिने कृषी विभागले जनाएको छ । आज कृषि प्रविधि र प्रयोग, रैथाने खाना, पर्यटन लगायतका विषयमा अन्तर्क्रिरया हुनेछ । त्यस्तै भोलि कोरोना, खाना र खेतीबालीको विषयमा छलफल हुने भएको जनाईएको छ ।
खाना र खेतीबाली : ग्रामिण महिला किसानको योगदान र जैविक विविधता, पोषण तथा रैथाने बालीहरुको विषयमा छलफल र अन्तर्क्रिरया हुने जनाईएको छ ।
रैथाने खाना र खेतीबाली जोगाउनु अहिलेको मुख्य चुनौती रहेको विभागले जनाएको छ । सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा १ सय ९३ देशले आउँदो १५ वर्षभित्र भोकमरी अन्त्य गर्न शून्य भोक अभियान चलाउने प्रतिवद्धता व्यक्त गरेको थियो ।
त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १ सय ९५ देशका उच्चस्तरीय प्रतिनिधिहरूले खाद्य सुरक्षा विश्वको मुख्य प्राथमिकता रहेको र जलवायु परिवर्तनको असर घटाउँदै सन् २०३० सम्ममा शून्य भोक बनाउन प्रतिबद्धता जनाएका थिए ।

