
पूर्णपुष्टि, साउन १२
इजरायलले १ हजार नेपाली कामदारको माग गरेको छ । ७ सय महिला र ३ सय पुरुष गरी तत्काल १ हजार नेपाली कामदार इजरायल बाट माग भएको हो ।
बैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो ।
२५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषले आवेदन दिन पाउने विभागले जनाएको छ । यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् ।
इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ ।
सरकारले इजरायलबाट आउने मागपत्रका आधारमा २१ दिनको समय दिएर परीक्षाका लागि आवदेन माग्नेछ । अनलाइनबाटै दरखास्त दिन सकिने छ । निर्देशिकाअनुसार दरखास्त स्वीकृत गरेर निवेदकको मोबाइलमा यसको सूचना दिइने छ ।
तोकिएको योग्यता भने पुरा गरेका व्यक्तिले परीक्षा पास गर्नुपर्नेछ । अंग्रेजी भाषाको ज्ञानलाई अनिवार्य गरिएको छ । असल चरित्र भएको र मानसिक तथा शारीरिक रुपमा स्वस्थ हुनुपर्ने शर्त पनि छ ।
सरकारले इजरायल जानका लागि कामदारको मापदण्ड तोकेको छ । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्नेछ । इजरायलको स्थानीय भाषालाई बाध्यकारी बनाइएको छैन ।
अंग्रेजी भाषाको ज्ञान भए पुग्नेछ । कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभिङसम्बन्धी तीन महिनाको तामिलप्राप्त गरेको व्यक्ति उम्मेदवार हुन पाउने विभागले जनाएको छ ।
