Monday, April 20News That Matters

रोजगारीका लागि फिटनेस चेक भन्दै नग्न भिडियो मगाएर ब्ल्याकमेल गरेको आरोपमा एक पक्राउ

पूर्णपुष्टि, बैशाख १० । रोजगारी मिलाईदिने झुटो आश्वशन दिएर फिटनेस चेक भन्दै नग्न भिडियो मगाएर ब्ल्याकमेल गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ स्थायी घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–८ बस्ने ३६ वर्षीय कमलप्रसाद अधिकारी रहेका छन् ।

प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थीका अनुसार अधिकारीले पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका विभिन्न प्रस्तावहरूको प्रचार गरेका थिए । त्यसका लागि फिजिकल फिटनेसको चेकजाँच गर्नुपर्ने भन्दै नग्न फोटो तथा भिडियो माग्ने गरेको डिएसपी अवस्थीले बताए ।

नग्न फोटो तथा भिडियो प्राप्त गरे पश्चात् उनले भने अनुसारका गतिविधि नगरे सोही भिडियो तथा फोटो सामाजिक सञ्जालमा पब्लिक गरिदिने भनी ब्ल्याकमेल गरी दुःख हैरानी दिने गरेको प्रहरीको भनाई छ । यस विषयमा आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट यस्तो गर्ने व्यक्ति अधिकारी रहेको खुल्न आएको डिएसपी अवस्थीले बताए । शनिबार काठमाण्डौँबाट पक्राउ गरिएका उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाण्डौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।