
पूर्णपुष्टि,चैत्र २ । जिल्लका रौतामाई गाउँपालिका–८, पाखाटोलका अग्नी पीडित परिवारलाई जिल्ला उद्योग वाणिज्य संंघ उदयपुरले आर्थिक सहयोग गरेको छ । पाखाटोलका स्थानीय निवासी रामबहादुर बुर्जा मगरको घरमा आगलागीबाट पूर्ण क्षति पुगेकोमा संघले पीडामा मल्हम लगाउने हेतुले १८ हजार पाँच सय रुपैयाँको चेक प्रदान गरेको हो ।
गत शुक्रबार एक्कासी मगरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षतीसँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । आगलागी हुँदा मगरको ६ वर्षिय छोरी जस्मिन मगर र २ वर्षिय छोरा रोजन मगर पनि जलेर मृत्यु भएको थियो ।
जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष इश्वरमान राई, जिल्ला कमिटी सदस्य प्रदिप देउजा, सौगात केसी, देव गिरी, विरेन्द्र खड्का र रौतामाई संयोजक कुमारी ज्यू ठकुरी सहितले पीडित परिवारको घरमै पुगेर राहत स्वरुप चेक हस्तान्तरण गरेको थियो । आगलागीबाट मगरको करिब १० लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी राकेश कुमार पोदारले जानकारी दिए ।
