
पूर्णपुष्टि, असोज २८ ।
उदयपुरको रौतामाई गाउँपालिकाको ८ नम्बर वडा कार्यालयमा विजुली बलेको छ । पालिकाले राष्ट्रिय विद्युत प्रशारण लाईन पुर्याए पछि पुवारेस्थित वडा कार्यालयमा विजुली बलेको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो ।
वडा कार्यालयमा प्रदेश सांसद नारायण वुर्जामगर र पालिका अध्यक्ष खड्काको हातबाट विजुलीको स्विच अन गरेर वडा कार्यालयको विजुली उद्घाटन भएको थियो । योसंगै पालिकाको चारवटा वडामा विद्युत लाईन विस्तार भएको छ । मुर्कुची हुदै पुवारेमा विद्युत लाईन विस्तार भएको छ । त्यहाँबाट केन्द्र भुट्टार र अन्य वडाहरुमा पोल गाडिनुका साथै तार टांगिएको छ । तीसबैमा विद्युत प्रशारण गर्ने योजना छिटै पुरा गर्ने पालिकाको लक्ष रहेको पालिकाकी उपाध्यक्ष कुमारी राना ज्यु ठकुरीले बताउनुभयो । उहाँले पालिकाभरी नै विद्युत विस्तारको उद्देश्यले काम अगाडी बढिरहेको रौतामाईमा क्रमिकरुपले पालिकाबासीले उज्यालो पाउदै जाने बताउनुभयो । यसपछि आगामी कार्तिकको २ गते पालिकाको केन्द्र भुट्टारमा विजुली बाल्ने कार्यक्रम रहेको जनाइएको छ ।
केन्द्र, प्रदेश सरकारसमेतको सहयोगमा पालिकाले विद्युत विस्तारको काम अगाडी बढाएको अध्यक्ष खड्काले बताउनुभयो । विद्युत विस्तारले सबै पालिकाबासीमा छिटै खुसी भर्ने पनि उहाँले बताउनुभयो ।
