
पूर्णपुष्टि, साउन २ ।
कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले सबैभन्दा बढी विपन्न बर्ग प्रभावित बनेको छ । लकडाउनका प्रभाव र असरहरु यतिबेला देखिन थालेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा डेरा गरी बस्ने एक विपन्न परिवारमा समस्या आइपरेको छ । गणेशबहादुर वि.क.विपन्न परिवारका हुन् । ज्यामी काम गरेर परिवार पाल्दै आएको वि.क. परिवारमा लकडाउनपछि खान धौ धौ परिरहेको बेला ४ वर्षिया छोरीको दाहिने खुट्टाको बुढी औला इटाले कुच्चाएर फुटेको छ । वि.क.ले उपचार गराउन सकेका छैनन् ।
नानीसहित आज पूर्णपुष्टिको कार्यालय खोज्दै आइपुगेको वि.क. दम्पत्तिले छोरीको उपचारका लागि आफुसंग केही सम्पत्ति नरहेकाले अरुसंग सहयोग माग्नु परेको बताए ।

गत असार १४ गते डेराघरमा नुहाउने क्रममा माथिबाट इटा खसेर ४ वर्षिय छोरी मिना वि.क.को खुट्टाको बुढीऔलामा बेस्सरी चोट लागेको थियो । सिमेन्ट ढलानको भईमाथि इटा खसेर लाग्दा उनको बुढी औला करिब करिब छुट्ने अवस्थामा पुगेको छ ।
वि.क.ले तत्काल जिल्ला अस्पताल उदयपुरमा लगेर प्राथमिक उपचार गरे । अस्पतालले ठूलो चोट लागेकै कारण बाहिर लैजान भनेको छ । तर, आर्थिक अभावले लैजान सकेका छैनन् ।
वडा कार्यालयलाई गुहारेका उनलाई वडा कार्यालयले आर्थिक सहयोग गरिदिन भन्दै सहयोग कार्ड बनाइदिएको छ । त्यही सहयोग कार्ड बोकेर वि.क दम्पत्ति छोरीको उपचारका लागि सहयोग रकम माग्दै हिडेका छन् यतिबेला । मनकारी मानिसले सय, पचार, दश, बीस रुपैया दिएको भरमा खर्च संकलन गरिरहेका छन् ।
जिल्ला अस्पताल उदयपुरका निमित्त मेडिकल सुपरिटेनटेन्ट डाक्टर जीव नारायण मण्डलले बच्चाको बढि औला नै काटेर उपचार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
