Monday, June 29News That Matters

लकडाउनपछि नेपालको वायु सफा

पूर्णपुष्टि, भदौ ९

नेपालमा करिब चार महिनादेखि वायु सफा भएको छ । लकडाउन सुरु भएको दुई हप्तापछि वायु प्रदूषण मापन केन्द्रहरुले हरियो सूचक देखाउन थालेको थियो ।

त्यसयता नियमित हरियो सूचक देखाएका वातावरण विभागले जनाएको छ । अघिल्ला वर्षहरुमा वैशाख–जेठ महिनामा केहीदिन खडेरी पर्नासाथ प्रदूषणको मात्रा बढ्ने गरेको भए पनि यो वर्ष नबढेको जनाएको छ ।

वर्षायाममा सामान्यतया हावाको प्रदूषण कम हुन्छ । तर अघिल्ला वर्षहरुमा असार साउनमा पनि केही दिन घाम लाग्दा हावाको प्रदूषण बढ्ने गरेको थियो ।  तर यो वर्ष त्यस्तो भएको छैन ।

काठमाण्डौ उपत्यकासहितका शहरमा गाडीबाट निस्कने धुवाँ नै वायु प्रदूषणको मुख्य कारण रहेको र लकडाउनमा गाडी कम चल्दा प्रदूषण घटेको विभागले जनाएको छ ।

त्यस्तै विभिन्न उद्योग बन्द हुँदा उपत्यकासहित शहरहरुमा समेत हावाको गुणस्तर बसोबासका लागि उपयुक्त भएको देखिएको छ ।

हावाको प्रदूषण मापन सूचक अक्वा ५० सम्म भएकोमा मानिसका लागि बस्न उपयुक्त र एक सयसम्म हुँदा बसोबास योग्य मानिन्छ । अहिले नेपालमा रहेका २१ वटा सबै मापन केन्द्रमा ५० भन्दा कम र विराटनगरमा रहेको केन्द्रमा अक्वा ८७ रहेको छ ।