
पूर्णपुष्टि, चैत २८ गते ।
लकडाउन भएको बेला धेरै चाप हुने सडक खण्डहरु विस्तारको काम सडक विभागले गर्ने भएको छ । सडकमा अत्यावश्यक बाहेक अरु गाडीहरु नगुड्ने भएकाले बढी चाप हुने सडक खण्डहरुमा लकडाउनको समयमा काम गर्ने भएको हो ।
सडक रेखा बनाउने काम गरिरहेको छ । सरकारले लकडाउनको समयमा नागरिकलाई घरबाट निस्कन नदिएको भएपनि केही कामदारलाई सुरक्षित रुपमा मास्क, स्यानिटाइजर र सुरक्षित आवासको व्यवस्था गरी काम गर्न लगाएको सडक विभागले जनाएको छ ।
सडक विभागले अहिले तिनकुने, एयरपोर्ट, गौशाला, थापाथली, माइतीघर, पद्मोदय मोड, धुम्बारही,बालुवाटार लगायतका विभिन्न सडक खण्डहरुमा सडक रङरोगनको काम गरिरहेको छ ।
काठमाण्डौ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड र काठमाण्डौको गौशाला–चाबहिल सडकखण्ड विस्तारको काममा भने लकडाउनका कारण कामदार नभएर असर परेको विभागले जनाएको छ । पर्याप्त कामदार खटाउन अहिलेको अवस्थाले नदिने भएकोले यसका लागि सुरक्षित रुपमा कामदार खटाउने तयारी गरिरहेको विभागले जनाएको छ ।
विभिन्न ठाउँमा ६० वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगे थियो । गिट्टी, रोडा, सिमिन्ट, डन्डी जस्ता सामान निर्माण स्थलमा भएपनि कामदारको अभाव हुदा काममा प्रभाव परेको जनाएको छ ।
पानी परे, ढलान गर्ने तयारीमा रहेका पुलमा क्षतिहुने भएकाले काम अघि बढाउन लागेको विभागले जनाएको छ । केही कामदारहरु लकडाउनको बेलामा निर्माण स्थलमै रहेकोले तिनै कामदारलाई खटाएर काम गर्न र गराउन सम्बन्धीत ठेकेदारसँग कुरा भइरहेको जनाएको छ ।
