Friday, June 26News That Matters

लद्दाखबाट भारत र चिनको सेना पछि हट्यो

पूर्णपुष्टि, जेठ २८ गते । 

चिन र भारत विचको विवादित सीमा क्षेत्र लद्दाखबाट दुवै देशका सेना पछि हट्न थालेका छन् । बुधबार पूर्वी लद्दाखको ’हट स्प्रिङ्स’ क्षेत्रमा दुई देशका उच्च सैनिक अधिकारीबीच वार्ता हुनुअघि दुवै देशका सेना नियन्त्रण रेखाबाट पछि हटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सीमा क्षेत्रबाट भारतले भन्दा चीनले धेरै सैनिकलाई पछि हट्न भनेको छ । यसअघि गएको आइतबार पनि दुई देशका जर्नेलस्तरमा वार्ता भएको थियो । वार्ताले सीमा समस्याको लागि सैनिक कुटनीतिक र राजनीतिक तहमा वार्ता सल्टाउने सहमति गरेको थियो ।

पहिलो चरणको वार्तापछि चीनसँग कुटनीतिक स्तरमा वार्ता भइरहेको र दुई वटै देश सक्षम नेतृत्व रहेकोले सीमाको तनाव लामो समय नरहने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले बताएका थिए ।

लद्दाख क्षेत्रमा भारत–चीनका सेनाबीच बर्सेनि एकरदुई पटक झडप हुने भए पनि यो वर्ष भने महिनैपिच्छे झडप भइरहेका छन् ।