
पूर्णपुष्टि, असोज २६ । झापामा प्रहरीले जेनजी आन्दोलनका बेला हतियार लुट्ने र हिरासतबाट फरार व्यक्तिसहित ८ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । शनिबार साँझ दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा प्रहरीले छापा मार्दा खैरो हिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सेक्टर ए ३ हट नम्बर ३५३ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा छापा मारेको प्रहरीले ७ ग्राम ८०० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरीले पक्राउ गरेकामध्ये घरधनी दमक–३ वेलडाँगी भुटानी शरणार्थी शिविरका साजन थापा, इलाम चुलाचुली–३ का दिपेश तामाङ र सनम राई, दमक–३ का आदित्य लिम्बू, पविन विश्वकर्मा र सुचन दर्जी, वेलडाँगी भुटानी शिविरका बिजय माझी र मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल रहेका छन् ।
पक्राउ परेकामध्ये आदित्य लिम्बू जेनजी आन्दोलनका क्रममा २४ भदौमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न रहेको खुलेको छ । उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।
प्रवक्ता खड्काका अनुसार जेनजी आन्दोलनका बेला देशभर भएका हिंसात्मक घटनाका क्रममा दमकमा पनि प्रहरी कार्यालयमा आक्रमण भएको थियो । त्यसबेला केही प्रदर्शनकारीहरूले प्रहरीको हतियार लुटेर भागेका थिए । लिम्बू ती हतियार लुट्ने समूहमा रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।
पक्राउ परेकामध्ये अर्का व्यक्ति निश्चल पोर्तेल गत भदौ २४ गते इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट फरार रहेका व्यक्ति हुन् । त्यसबेला उनी लागूऔषध मुद्दाको अनुसन्धानका लागि हिरासतमा राखिएका थिए । उनी हिरासतबाट कसरी भागे भन्ने विषयमा प्रहरी अनुसन्धान गरिरहेको छ ।
