
पूर्णपुष्टि, पुष १३
लागुऔषधको कारोवारमा संलग्न सुनसरीको ईनरुवा नगरपालिका–३ शिवालय टोलबाट १ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय ३२ बर्षीया ममता श्रेष्ठ, ३२ बर्षीय निरज शिवाकोटी, रामधुनी नगरपालिका–७ का २२ बर्षीय रुपेश माझी र २१ बर्षीय मनिष राई रहेका छन् ।
प्रहरीले उनिहरुको साथबाट लागुऔषध डाइलेक्स–डिसी १०० मि.लि. को ५३ बोतल, लागुऔषध नाइट्रोसन १६० ट्याब्लेट, डाइलेक्स–डिसीको बिर्को तथा बिर्कोमा लगाउने लक (रिङ) ११० थान, बिभिन्न कम्पनीको ८ थान मोबाईल र प्रदेश १–०२–०४१ प ९६४१ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
