
पूर्णपुष्टि, साउन २२ । सप्तरीको सप्तकोशी नगरपालिकाका औषधी पसल सञ्चालक अशोक यादवलाई प्रतिबन्धित लागुऔषध बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार गत साउन १० गते सवारी चेकिङका क्रममा प्रहरीले शेखर तामाङ र सुष्मा राईलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको थियो। उनीहरूबाट TRAMANIL ६०० ट्याब्लेट र COLIBAN ६०० ट्याब्लेट बरामद गरिएको थियो। पक्राउ परेका तामाङ र राईले बयानमा उक्त लागुऔषध सप्तरी सप्तकोशी नगरपालिका वडा नं. १ फत्तेपुर बसपार्क नजिकै स्वास्थ्य चौकी अगाडि रहेको यादवको औषधी पसलबाट किनेको बताएका थिए।
अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले साउन १७ गते (मंगलबार) यादवलाई पक्राउ गरेको हो। यादव मूलतः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का बासिन्दा हुन्। डिएसपी चापागाईले यादवमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।
