Tuesday, June 9News That Matters

लागुऔषध ब्राउनसुगर सहित ८ पक्राउ

पूर्णपुष्टि, माघ ६

झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेको प्रदेश प्रहरीले जनाएको छ ।

मोरङ रतुवामाई नगरपालिका–४ आमबारीबाट सोमबार दिउँसो साढे ४ बजे ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई–२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक मियाँ र भारतका अररिया जिल्ला कुचहा धाताका २२ बर्षीय मोहम्मद नवाब आलम रहेका छन् ।

भारतिय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुबै जनालाई नियन्त्रणमा लिई उनिहरुको चेकजाँच गर्दा १२६ ग्राम १४ मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी झापाको मेचीनगर नगरपालिका–६ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार साँझ ६ बजे धरान उपमहानगरपालिका–१७ का २४ बर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका–२ का २८ बर्षीय अरुण सुब्बालाई ५० ग्राम ब्राउनसुगर सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ का १५ बर्षीय रमेश राजवंशीलाई लागुऔषध लुपिजेसिक ३० सिसि, डाईजोपिन  ३० सिसि र प्रोमोथाईजिन ३० सिसि गरि जम्मा ९० सिसि सहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको छ ।

त्यसैगरी झापाकै बेलडागीबाट दुई युवकलाई १ ग्राम ६०० मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–३ का २० बर्षीय समीर तामाङ र २२ बर्षीय नविन लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमवार अपरान्ह ५ बज पक्राउ गरेको हो ।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्धाशान्ति गाउँपालिका–४ का २२ बर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमवार दिउँसो माझिलाई किरात चोकबाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका आठै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरीले कार्यालयले जनाएको छ ।