
बहुविवाहविरुद्धको उजुरी दर्ता, पक्राउ पुर्जी जारी
भित्राएको श्रीमती विचल्नी पारेर अर्कीसंग किर्ते विवाह दर्ता गरेको आरोप
पूर्णपुष्टि ब्यूरो
उदयपुर, भदौ २३ ।
कतिपय नेताहरु जनतालाई ढाट्न, छल्न मात्र गर्दैनन् हदैसम्म गिरेर सामाजिक संस्कार र कानुनी मर्मलाई नै कुल्चिनेसम्मको हर्कत देखाउँछन् । यस्तो ढाट, छल गर्ने र अमानवीय देखाउनेहरुकै कारण आज राजनीति र राजनीति गर्नेहरु बदनामी हुने गरेका छन् ।
यस्तै गलत हर्कत गरेर चर्चामा छन् भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्व अध्यक्ष महेश राई । नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्ष जितेका उनले जातीय संस्कार अनुसार भित्राएको श्रीमती हिमालय राईलाई आप्mनै पार्टीकी अर्की एक महिलासंग विवाहको कागज बनाएर हदैसम्मको दुःख दिने काम गरेका छन् । उनीविरुद्ध भदौ १३ गते पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी बृत्त बौद्धले १३ गते बहुविवाहविरुद्ध उजुरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौंले सोमबार आरोपित विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यो कानुनी राज्य हो । राज्यले उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरी कारवाही गर्नुपर्ने हुन्छ । 
पिडित श्रीमती हिमालयले छ महिनाअघि देखि नै न्यायको माग गर्दै उजुरी दर्ता गर्न खोजिरहेकी थिइन् । राजनीतिको खोलभित्रबाट आफु लुक्न र अपराध लुकाउन लागि परेका पूर्व अध्यक्ष राई उपल्लो तहका नेताको आडमा उजुरी दर्ता हुन रोकिरहेका थिए । नेता र पार्टीकै संरक्षणमा अपराध लुकाउन खोजिरहेका राईविरुद्ध बहुविवाहको उजुरी दर्ता गर्न र पक्राउ पुर्जी जारी गर्न अदालत नै पुग्नु पर्यो । यस्ता गलत ब्यक्तिलाई संरक्षण दिने भन्दा कारवाहीमा लैजान दलहरुले सहयोग गर्दा राजनीतिप्रति जनताको भरोसा जाग्ला । दलभित्र आप्mनै पनि अनुशासनको डण्डा हुन्छ । त्यसलाई नेताहरुले सहि प्रयोग गरेर गलत ब्यक्तिलाई कानुनी कठगरामा उभ्याउन सक्नुपर्छ, नत्र असल नेता र सहि राजनीति पनि बदनामीमा मुछिने अवस्था हुन्छ । यस हिसावले ११ दिनमै दुई विवाह गर्ने, परम्परागत रुपले भित्राएको श्रीमतीको विचल्नी बनाउने भोजपुरे एक कांग्रेस नेता, पालिका पूर्व अध्यक्ष राई कती गलत छन् भन्ने कुरा सजिलै आकलन गर्न सकिन्छ । स्थानीयदेखि राष्ट्रिय मुलधारका मिडियाहरुमा वास्तविकता छताछुल्ल भइसकेका छन् । यति हँुदाहुदै पार्टी र उनको उपल्लो तहका नेताले संरक्षण गर्ने पिडितलाई न्याय नदिने हो भने त्यसको लेखाजोखा सचेत नागरिकहरुले गर्नेछन् ।
हृदयघातका कारण जेठी श्रीमतीको मृत्युपछि पूर्व अध्यक्ष राईले २०७८ मंसीर १३ गते ललितपुरको सुनाकोठी बस्दै आएकी ३९ वर्षिया हिमालय राईसंग परम्पराअनुसार विवाह गरी कपनस्थित घरमा भित्राएका थिए । विवाहको तीनदिन पछि मंसीर १६ गते नेपाली काङ्ग्रेसको १४ औं जिल्ला महाधिवेशनको तयारी र महाधिवेशन प्रतिनिधि भएकोले नवविवाहित श्रीमती हिमालयसंग विराटनगर गएका थिए । त्यहाँबाट गृहजिल्ला गएका श्रीमान् सम्पर्कविहिन भए भने काठमाडौं फर्केकी हिमालयले घर र जेठीतर्फकी छोरीको हेरचाह गर्दै बस्न थालिन् । हिमालयका अनुसार विराटनगरबाट भोजपुर गाउँ गएका अध्यक्ष राई नियतवस् श्रीमतीसंग सम्पर्क विहिन बनेका रहेछन् । त्यसैक्रममा फागुन १६ गते एक्कासी एक अपरिचत महिलाले आफु जेठी श्रीमती भएको दावी गर्दै घरमा कब्जा जमाइन् । उनले हिमालयसंग विवाह गर्नुभन्दा ११ दिन अघि मंसिर २ गतेको विवाह दर्ता देखाउदै कब्जा जमाइन् । ती महिला नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य माया राई हुुन् । विहे दर्ताको कागज साल्पासिलिछो गापा – २ को रहेको छ ।
स्थानीयका अनुसार मंसीर २ गते भोजपुरकै पौवादुङ्मा र अरुण गाउँपालिकामा पार्टीको कार्यक्रममा सहभागि भइ ब्यस्त रहेकाले महेश र उनले विवाह दर्ता गर्ने अवस्था थिएन । उनीहरुले कृते गरी विवाह दर्ता गरेको स्थानीयको भनाई छ ।
एकातर्फ श्रीमान् सम्पर्क विहिन हुनु र अपरिचित महिलाले विवाह दर्ता देखाउदै घर कब्जा गरेपछि हिमालय विचल्नीमा परेकी हुन् । अन्याय परेपछि न्यायका लागि उजुरी दिदा दर्ता गर्न ठूलो सकस परेको उहाँले बताउनुभयो । राजनीतिक दवाव र प्रभावकै कारण उजुरी दर्ता गर्न र न्याय पाउन सकस परिरहेको उहाँको गुनासो छ । “कानुनी राज्यमा पिडितले न्याय पाउनु पर्ने हो तर, राजनीतिक दवाव र प्रभावले प्रहरी उजुरीसम्म दर्ता गर्न मानेन ।” उहाँले भन्नुभयो ।
उजुरी दर्ता र पक्राउ पुर्जी जारी गर्न पिडितले महानगरीय प्रहरी बृत्त बौद्ध, महानगरीय प्रहरी बृत्त (महिला सेल) कालीमाटी, महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र सोही कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद विरुद्ध उच्च अदालत पाटनमा रिट हाल्नु परेको थियो ।
त्यसको साढे तीन महिनापछि असार २९ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुबराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजालसले पीडितको रितमा फैसाला गर्दै जाहेरी दर्ता गरी आवश्यक कारवाही गर्नु भने विपक्षीहरुका नाममा परमादेश जारी गरेको थियो । त्यसपछि मात्र प्रहरीले बहुविवाहविरुद्धको उजुरी दर्ता गरेको हो ।
पक्राउ पुर्जी जारी भइसकेकोले तत्काल पक्राउ गरी कारवाही गर्न पिडित पक्षको माग छ । “कानुनी राज्यमा कानुनी न्यायको आभास हुनुपर्यो ।” वहिनीको न्यायको लागि लडिरहनु भएको हिमालयका दाजु प्रेम राईले भन्नुभयो । उहाँले न्याय नपाएसम्म जस्तो सुकै न्यायिक लडाइ लड्न तयार रहेको बताउनुभयो ।
महानगरीय प्रहरी पसिर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले आरोपितलाई पक्राउ गर्न प्रहरी सक्रिय रहेको र दोषी नउम्कने कुरा कान्तिपुर अनलाइनले उल्लेख गरेको छ ।
