
पूर्णपुष्टि, असार १६
उदयपुरमा विद्युत आपूर्तिको समस्याले दैनिकी कामहरुमा समस्या पारेको छ । लोडसेडिङ र भोल्टेज कम भएपछि यहाँका उद्योग धन्दा र मेसिनरी कामहरु ठप्प सम्म बन्न पुगेको छ । पूर्ण विद्युत आपूर्ति नहुँदा साना तथा ठुलो उद्योगिक धन्दा तथा अन्य कामहरुमा समस्या रहेको छ । सरकारी काम, हस्पिटल, छापाखाना, खानेपानी, कृषि जस्ता महत्पूर्ण कामहरु समेतमा प्रभाव परेको छ ।
विद्युत नियमित नहुदा सर्वसाधारणको काम सँगै उद्योग व्यवसाय चौपट भएका छन् । २०–२५ मिनेट, एक घण्टा दुई घण्टामा जादै आउदै गर्ने विद्युतमा भोल्टेज नहु जस्ता समस्या उत्पति भएको छ ।
लहानमा रहेको विद्युत स्टेशनमा गत विहिबार वर्षातसँगैको चट्याङले ६३ एमभिए पावर ट्रान्सफर्मर जलेपछि सिरहा र उदयपुरमा विद्युतमा समस्या आएको हो । सो ट्रान्सफर्मर मर्मतको लागि अझै दुई हप्ता लाग्ने विद्युत प्राधिकरण उदयपुर शाखाका प्रमुख पंकज गोइतले जानकारी दिए । लहान विद्युत स्टेशनको ६४ एमभिए पावर ट्रान्सफर्मर जलेको छ त्यसको ठाउँमा अर्को ट्रान्सफर्मर लगाउन करिव दुई हप्ता लाग्ने प्रमुख गोइतले बताए । ट्रान्सफर्मर बुटबलबाट ल्याएर जडान गर्नु पर्ने छ । सप्तरीको रुपनी सव स्टेशनबाट पनि विद्युत आपूर्तिको लागि काम अगाडी बढिरहेकोले यो समस्या चाँडै हट्ने प्रमुख गोइतले बताए ।

विद्यूत आपूर्तिमा समस्या भएपछि अहिले विद्युत आपूर्ति बैकल्पिक माध्यम ल्याएर दिईरहेको विद्युत प्राधिकरण गाईघाटका सूचना अधिकारी इन्जिनियर सत्य नारायण साहले जानकारी दिए । त्रियुगा नगरपालिकाको लागि अहिले सोलुखुम्बु, ओखलढुंगा हुँदै दिक्तेलको बुइपा सवस्टेशन हुँदै जलजलेबाट वितरण गरिरहेको इन्जिनियर साहले बताए । राष्ट्रिय प्रसारण लाइनको विद्युत नभएकोले गर्दा विद्युत् आपूर्तिमा समस्या भएको इन्जिनियर साहले बताए । सोलु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको भोल्टेज तलमाथि भइरहेकोले अहिले सोचे अनुसार विद्युत आपूर्तिमा समस्या भएको इन्जिनियर साहले बताए । सोलु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतले भोल्टेज तलमाथि भएकोले अनावश्यक विद्युतिय सामग्री नचलाई दिन ग्राहकहरुलाई इन्जिनियर साहले अनुरोध गरेको छ । त्रियुगा नगरपालिकामा अहिले सोलुबाट ३३ केभिए पावरको विद्युत आपूर्ति भईरहेको छ ।
