
पूर्णपुष्टि, भदौ ७
सिन्धुपाल्चोकको लिदीका पहिरो विस्थापितहरुलाई स्थानान्तरण गर्ने काम सुरु भएको छ । पहिरो विस्थापितहरुलाई जुगल गाउँपालिका–१ सेलाङको बाँसखर्कमा सार्ने गरी काम सुरु भएको हो ।
आजबाट सुरक्षाकर्मीले टेन्ट जोड्ने र सुरक्षाको प्रबन्ध मिलाउने काम सुरु भएको जनाईएको छ । पहिलो चरणमा १ सय २१ परिवारलाई टेन्टमा राख्ने गाउँपालिकाले जनाएको छ ।
१ सय ७२ घरपरिवारमध्ये अहिलेसम्म सार्नुपर्ने पहिचान भएका १ सय २१ परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामाग्री ढुवानी गरिएको जनाईएको छ ।
बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णय अनुसार हिजो ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ । जिल्ला आयोजना कार्यान्वयन इकाईले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउनेछ ।
जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको जनाईएको छ ।
सिन्धुपाल्चोकको लिदीमा गत साउन ३० गते पहिरोमा हराएका ३९ मध्ये ३२ जनाको शव फेला परेको छ भने बाँकी ७ जनाको पनि खोजी कार्य भैरहेको जनाईएको छ ।
