Thursday, April 30News That Matters

लिभिङ टुगेदर बस्दैँ आएका युवा–युवती मृत अवस्थामा फेला

पूर्णपुष्टि, पुष २३
लिभिङ टुगेदर बसेका एक जोडी युवा–युवती काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । संखुवासभाका २५ वर्षीय अनिश जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत अवस्थामा फेला परेका हुन् ।
गएराति काठमाडौं महानगरपालिका–६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिएका थिए । उनीहरू सँगै बस्न थालेको २०–२२ दिन मात्रै भएको प्रहरीले जनाएको छ ।

घटनामा कुनै तेस्रो व्यक्तिको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ । गएराति अनिश र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए ।
आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन् । ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फोड्न लगाएका थिए । कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन् ।
त्यस्तै, छेउमै अनिश पनि मृत अवस्थामा फेला परेका थिए । घटनास्थलबाट धारिलो हतियार पनि फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी घटनास्थलमा पुग्दा अनिशको शरीर तातै भएकोले उनलाई चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
यसमा युवकले पहिले धारिलो हतियार प्रयोग गरी युवतीको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ ।
यद्यपी यसको पुष्ट्याइ पोष्टमार्टम रिपोर्टले गर्ने प्रहरीले जनाएको छ । प्रहरीले शवको पोष्टमार्टम गर्न शिक्षण अस्पताल लैजाने तयारी गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।