
उदयपुर, साउन ३० गते ।
पहिचानको मुद्दालाई व्यवहारिकरुपमै उतार्न सफल भएको भन्दै उदयपुरका एक पालिका अध्यक्ष विहिबार सम्मानित भएका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई सम्मानित भएका हुन् ।
साविक सुनकोशीलाई किराँत पहिचानसंग सम्बन्धीत लिम्चुङबुङ गाउँपालिका नामाकारण गर्न सफल भएको भन्दै अध्यक्ष राईलाई नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), १ नं. प्रदेशले उदयपुरको राजाबासमा भएको पहिलो प्रदेश महाधिवेशन सम्मान गरेको हो । अध्यक्ष राईलाई कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले कदरपत्र प्रदान गरेका थिए भने फोनिज १ नं. इन्चार्ज दिपेन राईले खादा ओढाएर सम्मान गरेका थिए ।
संविधानले संघीयतासंगै पहिचानलाई अंगिकार गरेपनि पहिचानको मुद्दा ओझेलमा परिरहेको अवस्थामा सो पालिकाले पहिचानको आधारमा पालिकाको नाम नामाकरण गर्न सफल भएकोमा प्रशंसा समेत गरिएको छ । “पहिचानको आधारमा पालिकाको नामाकरण सजिलो काम होइन, तर उदयपुरको एउटा पालिका सफल भएकाले सम्मान गरेका हौं ” फोनिज १ नं. प्रदेश इन्चार्ज राईले भने “यो देशकै लागि गौरब र सराहनीय काम हो ।”
पालिका अध्यक्ष राईका अनुसार सुनकोशीलाई लिम्चुङबुङ गाउँपालिका बनाउन २०७४ भदौ ३१ गते गाउँसभाबाट पारित गरिएको थियो भने ०७४ फागुन १४ गते नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।
लिम्चुङबुङ किराँत राई सभ्यतासंग जोडिएको एक बनस्पतीको नाम हो । चामलिङ राई भाषामा लिम्चुङबुङ भन्नाले “डाडाँमा फुल्ने सुगन्धित फुल” भन्ने अर्थ लाग्छ । किराँत राई समुदायको बाहुल्यतासमेत रहेको सो पालिकाका पाखाहरुमा लिम्चुङबुङ प्रशस्त्र पाईन्छन् ।
