Monday, April 20News That Matters

लुटपाट गरेको अभियोगमा असई सहित ३ जना प्रहरी पक्राउ

पूर्णपुष्टि, कार्तिक २१ । लुटपाट गरेको अभियोगमा प्रहरी सहायक निरिक्षक (असई) सहित ३ जना प्रहरी पक्राउ परेका छन् । लुटपाट गरेको अभियोगमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई सुन बहादुर तामाङ, हवलदार खगराज अधिकारी र जवान भुवन बराललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जनाएको छ ।

उनिहरुमाथि दुई साताअघि सिआरभी (कन्ट्रोल रुम भेहिकल) मा ड्युटी गर्दा लुटपाट गरेको आरोप छ । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा ट्याक्सीमा आएका ३ महिला र एक जना पुरुषलाई रोकेर उनीहरूले पैसा नदिए पक्राउ गर्ने धम्की दिएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनिहरुले पैसा लिएर छाडेपछि पीडितहरुले प्रहरी कन्ट्रोलमा फोन गरेर कम्प्लेन गरेका हुन् । लुटपाटमा संलग्नहरूलाई पक्राउ गरेर निलम्बन गरिएको र पीडितहरू जाहेरी दिन नआएपछि थुनामा राखेर सार्वजनिक हित विरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको ती अधिकृतले जनाए ।