Saturday, April 25News That Matters

वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

पूर्णपुष्टि, जेठ २१ गते ।

रुकुम पश्चिमको एक प्रहरी पोष्टमा वडा अध्यक्षको नेतृत्वमा हिजो बेलुका आक्रमण भएको छ । मुसिकोट नगरपालिका– १३ का वडाध्यक्ष दिपक केसी लगायतको समूहले मंगलबार बेलुका ९ बजे १४ न. वडाको छिवाङ्ग ज्युलाको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको हो ।

वडाध्यक्षले करिब २०/२५ जना युवाहरु लिएर प्रहरी पोष्टमा आक्रमण गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जाँडरक्सी खाएर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुढाले आक्रमण गरेको प्रहरीले जनाएको छ । पोष्टमा एक्कासी आक्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि प्रहरीले बल प्रयोग गरेर हतियार फिर्ता लिएको प्रत्यक्षदर्शीले जनाएको छ ।

वडाध्यक्षको टोलीले प्रहरी ईन्ट्री पोष्ट भत्काउनुका साथै इन्चार्जको बर्दिसमेत च्यातेको छ भने दुई जना प्रहरी जवान कुटपिट गरेका छ ।

क्वारेन्टाईन व्यावस्थापनको कामबाट फर्केर खाना खान लागेको अवस्थामा आतंककारी शैलीमा प्रहरी पोष्टमा हमला गरेको प्रहरीले जनाएको छ । ड्युटीमा बसेको प्रहरीलाई वडाध्यक्षले सुरुमा लात्ती हानेको प्रहरीले जनाएको छ । वडाध्यक्षका छोरा लगायतकाले हातमा धारीलो हतियारसमेत लिएर आएको स्थानीयले देखेको प्रहरीले जनाएको छ ।

दादागिरी मच्चाउँदै आएका अध्यक्ष केसीले बिहान हेलमेट बिनै मोटरसाइकल चलाएको बेला ट्राफिक नियम उल्लंघन नगर्न ड्युटीमा रहेको प्रहरीले अनुरोध गर्दा वडाध्यक्षले ‘तँ हवल्दार चुप लाग, तँलाई देखाइदिन्छु पख’ भन्दै झोक्किएर गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको टोली घटनास्थल पुग्न नपाउँदै उनी भागेको र अहिले सम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

यसअघि वडाध्यक्ष केसीले जिल्लाबाट गएको प्रहरीको ड्युटी टोलीका प्रमुखमाथि आक्रमण गरेको थियो । तर उनी छुटेका थिए ।