Sunday, June 7News That Matters

वडाध्यक्षलाई बृद्धबृद्धाले दिए न्यानो आशिर्वाद

पूर्णपुष्टि, पुस २१ गते । 

वडाअध्यक्षले न्यानो कपडा लगाईदिए पछि बृद्धबृद्धाहरुले “जनप्रतिनिधि यस्तै हुनु है” भन्दै आशिर्वाद दिए । जाडोमा न्यानो लागउन पाउदा खुसी हुदै उनीहरुले वडाध्यक्ष लगायत सदस्यहरुलाई सन्तानको दर्जा दिए ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १६ का वडाध्यक्ष मानबहादुर राईले ८० वर्ष माथिका ४५ जना बृद्धबृद्धाहरुलाई सोमबार जाडोमा न्यानो लुगा लगाईदिएपछि उनीहरुले यस्तो आशिर्वाद दिएका हुन् । पालिकाको विकट वडाका विपन्न अवस्थाका बृद्धबृद्धाहरुलाई जाडोमा न्यानो सहयोग स्वरुप स्विटर, ज्याकेट र बर्की वितरण गरिएको हो ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वडाले ८० वर्ष माथिका बृद्धबृद्धाका साथै राज्यबाट सेवा सुविधा नपाएका ३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो सहयोग गरेको हो । अपांगता भएकाहरुलाई न्यानो ओढ्ने ब्यांकेट र ओछ्याउने म्याट प्रदान गरिएको थियो ।

वडाध्यक्ष रार्ईले वार्षिकरुपमा न्यानो कार्यक्रमलाई वितरण गरिदै आएको छ । आगामी वर्ष पनि निरन्तरता दिने उहाँले बताउनुभयो ।

कार्यपालिका सदस्य तथा १६ नं. वडा सदस्य गोमा कार्कीले जेष्ठ नागरिककाबीच जाडोमा न्यानो कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो । आगामी दिनमा अझ बढि बृद्धबद्धाहरु, अपांगता भएका व्यक्ति तथा वालवालिका, अशक्तलाई समेत समेटेर यस किसिमको कार्यक्रम गरिने उहाँले बताउनुभयो । न्यानो कपडा वितरणमा अर्की कार्यपालिका सदस्य तथा वडासदस्य कुन्ति परियार, वडा सदस्य घमानसिंह राई पनि सहभागि हुनुहुन्थ्यो ।

कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज राजकुमार चौधरी, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, स्पोर्टस् क्लव जाल्पा चिलाउनेका अध्यक्ष भुवन दाहाल, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मन्तब्य दिदै वडाको न्यानो कार्यक्रमको प्रशंसा गरे । बृद्धबृद्धा र अपांगता भएका ब्यक्तिहरुलाई प्रत्यक्ष फाईदा पुग्ने काम भएको भन्दै आगामी वर्ष पनि निरन्तरता दिन सुझाव दिए ।

बुद्धिजिवि, नागरिक समाज, शिक्षक र सर्बसाधारणको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन वडासचिव मिलन राईले गर्नुभएको थियो ।

फोटो फिचर