
पूर्णपुष्टि, चैत २२
काठमाण्डौसहित देशका विभिन्न ठाउँमा भएको वायु प्रदूषण कम हुँदै गएको छ । विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको काठमाण्डौसहितका सहरहरुमा आकाश खुल्दै गएको छ ।
अहिले काठमाण्डौको हावाको गुणस्तर मापन गर्ने सूचक एक्यूआई २ सयको हाराहारीमा रहेको जनाईएको छ ।
२ सयभन्दा माथि एक्यूआई भएमा हानिकारक मानिन्छ । त्यस्तै धनगढी, सौराहालगायतका ठाउँको वायु प्रदूषण पनि सबैभन्दा धेरै देखिएको छ । केही दिन थोरै ठाउँमा भए पनि पानी परेकोले वायु प्रदूषण कम हुँदै गएको वातावरण विभागले जनाएको छ ।
वायु प्रदूषण कम भए पनि अवस्था भने अस्वस्थ नै रहेकाले आवश्यक सावधानी अपनाउन विभागले जनाएको छ ।
वायु प्रदूषण कम हुँदै गए पनि विश्वभरको तुलनामा काठमाण्डौँको वायु प्रदूषण शीर्ष स्थानबाट भने तल झर्न सकेको छैन । अहिले पनि संसारकै सबैभन्दा धेरै प्रदूषणको सूचीमा नेपाल कायमै छ ।
विश्वभरको वायु प्रदूषण कम हुँदै जाँदा नेपालको पनि सुधार भएको तर शीर्ष स्थानमा कायमै देखिएको हो ।
