Wednesday, April 22News That Matters

वार्षिक २२ लाख किसानले अनुदानमा रासायनिक मल पाउँछन् : कृषिमन्त्री अधिकारी

पूर्णपुष्टि, साउन १४ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक करिब २२ लाख कृषक परिवारले अनुदानमा रासायनिक मल प्राप्त गर्ने गरेको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन्।

मन्त्री अधिकारीका अनुसार नेपालमा कुल ४१ लाख ३० हजार कृषक परिवार रहेका छन्। उनले करिब १ लाख ५० हजार परिवारले बीमाको प्रिमियममा अनुदान प्राप्त गर्ने पनि बताए। नेपाल सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय तहबाट किसानहरूलाई विभिन्न सहुलियत, सुविधा र अनुदान प्रदान गर्दै आएको मन्त्री अधिकारीले उल्लेख गरे।

यी सहुलियतहरूमा रासायनिक मलको मूल्य, सिंचाईको लागि विद्युत महशुल, कृषि तथा पशुपंक्षी बीमा प्रिमियम, उखु किसानलाई उत्पादनमा अनुदान, कृषि यान्त्रिकीकरण, कृषि कर्जाको ब्याज, बीउको मूल्य, फलफूल बिरुवा र माछा पोखरी निर्माण जस्ता क्षेत्रहरू समावेश छन्। मन्त्री अधिकारीले प्रदेश सरकार र स्थानीय तहले पनि आफ्नो आवश्यकता अनुरूप दुग्ध उत्पादन, पशुपालन र पशु उपचारमा विभिन्न सहुलियतहरू प्रदान गर्दै आएको जानकारी दिए।