Tuesday, June 30News That Matters

विदेशबाट ८० हजार भन्दाबढी नेपाली स्वदेश फर्किए

पूर्णपुष्टि, असोज १२

कोरोना महामारीबाट उत्पन्न समस्यामा परी विदेशमा अलपत्र परेका ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।
महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका नेपालीहरु विभिन्न चार्टर्ड उडान र भदौं १६ पछि भने केही देशबाट नियमित उडानमार्फत स्वदेश फर्किएका हुन ।

शनिबारसम्म ३२ देशबाट ८० हजार १६ जना नागरिक स्वदेश फर्केको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) ले जनाएको छ ।

स्वदेश फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २ सय ३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् । उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा विभिन्न देशमा गएका थिए ।
अहिलेसम्म साउदी अरेबियाबाट १२ हजार ३ सय ८१, मलेसियाबाट ११ हजार ६ सय ५१, कतारबाट ११ हजार १ सय ५०, कुवेतबाट आठ हजार ४ सय ७८, जापानबाट एक हजार ७ सय ५४, दक्षिण कोरियाबाट एक हजार ४ सय ४७, ओमनबाट एक हजार ३ सय २५, बहराइनबाट  एक हजार २ सय ७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९ सय ३६, बङ्गलादेशबाट ८ सय ८८, माल्दिभ्सबाट ८ सय ५३, सिङ्गापुरबाट ५ सय ५५,  अमेरिकाबाट ४ सय ३०, चीनबाट ३ सय ३३ र जोर्डनबाट ३ सय १७ नेपाली स्वदेश फर्केका हुन् ।