
पूर्णपुष्टि, फागुन १४
नाइजेरियाको एक विद्यालयमा बन्दुकधारीहरुले आक्रमण गरेको छ ।
नाईजेरियाको उत्तर–पश्चिमी जाम्फारा राज्यमा शुक्रवार बिहान बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरेपछि झण्डै तीन सय छात्राको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।
स्थानीय समयअनुसार शुक्रवार रातको एक बजे बन्दुकधारीले आक्रमण गरेको जनाईएको छ । जङ्गेबे क्षेत्रको एक विद्यालयमा मोटरसाइकल र गाडीमा आएका बन्दुकधारीको एक समूहले आक्रमण गरेको एक शिक्षकले जानकारी दिएको समाचारमा जनाईएको छ ।

विद्यालयमा चार सय २१ विद्यार्थी रहेको मध्ये ५५ जना सुरक्षित छन् र तीन सय छात्राको अपहरण गरिएको आशङ्का गरेको जनाईएको छ ।
नाइजेरिया सरकारका प्रवक्ताले आक्रमणको पुष्टि गरेका छन् तर यसबारेमा अन्य जानकारी दिएका छैनन् । गत केही हप्तायता भएको अपहरणको घटनामा यसलाई सबैभन्दा ठूलो मानिएको छ । नाइजेरियामा हतियारधारी समूहले फिरौतीकै लागि अपहरण गर्दै आएका छन् ।
नाइजेरियाको छिमेकी देश नाइजरमा गत हप्ता २७ विद्यार्थीसहित कम्तीमा ४२ जनाको अपहरण गरिएको थियो । त्यो घटनाको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जनाईएको छ ।
