Sunday, June 21News That Matters

विराटनगरको २ अस्पतालमा ६ संक्रमितको ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ ३

विराटनगरको दुई अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो १० घण्टाभित्र ३ वृद्धसहित ६ जना पुरुषको ज्यान गएको हो । नोबेल शिक्षण अस्पतालमा ५ र कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १ जना सक्रमितको ज्यान गएको छ ।

नोबेलमा ज्यान गएकामध्ये २ जना प्रदेश २ को सिरहा र सप्तरी तथा ३ जना प्रदेश १ को सुनसरी, उदयपुर र विराटनगरका बासिन्दा रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

उनका अनुसार सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको सोमबार बिहान ५ बजेतिर ज्यान गएको छ । उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । सप्तरीको कन्चनपुरका ४५ वर्षीय पुरुषको बिहान ८ः ४५ बजेतिर ज्यान गएको प्रबन्धक दाहालले जानकारी दिनुभयो । कोरोना संक्रमण  पुष्टि भएका उनलाई उपचारका लागि वैशाख ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर–४ का ४५ वर्षीय पुरुषको बिहान ४ः२० बजेतिर नोबेलमै ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि जेठ १ गते शनिबार अस्पताल भर्ना गरिएको जानकारी दाहालले दिनुभयो । सुनसरीको इनरुवा नगरपालिका–१ का ६२ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै उपचारका क्रममा ज्यान गएको छ । उनलाई उपचारका लागि वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो । वृद्धको मृत्यु बिहान ६ बजेतिर भएको दाहालले बताउनुभयो ।

उदयपुर कटारीका ७४ वर्षीय वृद्ध पुरुषको पनि उपचारकै क्रममा ज्यान गएको छ । दाहालका अनुसार उनको आइतबार राति १०ः३० बजेतिर ज्यान गएको हो । कोरोनाका कारण अवस्था गम्भीर रहेका वृद्धालाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको उनको भनाइ रहेको छ ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१८ का ५५ वर्षीय पुरुषको ज्यान गएको छ । अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार उनको बिहान ३ः३० बजेतिर ज्यान गएको हो । कोरोना पुष्टि भएका पुरुषलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।