
पूर्णपुष्टि,चैत्र ५ । जिल्ला प्रशासन कार्यालय, मोरङले सूचना प्रकाशित गरी चैत ५ गते बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरूले आज वृहत् प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो ।
गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा दैनिक प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्।
यसले शान्ति सुरक्षामा असर पर्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जनाएका छन्। जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०७९र१२र५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलूस, भेला, र्याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३क० बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ।’
स्थानीय प्रशासनले प्रदेश सभा भवनको पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरिको ३०० मिटरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
त्यस्तै, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालयको डाँफे चोकदेखि पूर्वको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा उल्लंघन गरेमा कारबाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ।
