
पूर्णपुष्टि, जेष्ठ २
कोरोनाको समयमा पनि विवाह, भोेज जस्ता कार्यमा सरिक हुने मानिसको संख्या उतिकै छ । जसले गर्दा मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो संख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र अहिले कूल संक्रमितको संख्या २ सय रहेको छ । नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना संक्रमित देखिनुले चुनौती र जोखिम दुवै बढेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो ।
थाहा–३ मा संक्रमणदर पनि उच्च रहेको छ । यहाँ १ सय २ जनामा परीक्षण गरिएकामा ७० जनमा संक्रमण पुष्टि भएको र संक्रमणदर ६६ प्रतिशत रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिएनुभयो । संक्रमित हुनेमा स्वास्थ्यकर्मीसमेत हरेका छन् ।
विवाह भोज–भतेरको जमघट र अन्य सामूहिक गतिविधिका कारण थाहा–३ मा संक्रमण फैलिएको ‘कन्ट्याक्ट ट्रेसिङ’ बाट देखिएको प्राथमिक स्वास्थ्य केन्द्र पालुङका चिकित्सकले जनाएको छ ।
