Tuesday, June 2News That Matters

विश्वकै लामो दूरीको म्याराथन दौड प्रतियोगिता सोलुमा

पूर्णपुष्टि, कार्तिक १ गते ।
विश्वकै लामो दूरीको म्याराथन दौड प्रतियोगिता कर्तिक ६ गते बाट सोलुखुम्बुमा हुने भएको छ । जिल्लाको सोलुदुधकुण्ड–८, धापबाट प्रतियोगिता सुरु हुने आयोजक सङ्स्थाबद स्मल वर्ल्डले जनाएको छ ।
आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाका अनुसार धापबाट सुरु भएर सगरमाथा आधार शिविरसम्म पुगेर पुनः धापै आएर टुङ्गिने म्याराथनको दूरी ३१० किलोमिटरको हुने छ ।
धावक दा छिरि शेर्पाको अगुवाइमा हुने प्रतियोगिता १५ दिनसम्म चल्नेछ । दौडमा विभिन्न देशका ४० जना अन्तर्राष्ट्रिय धावक र दुई दर्जन नेपाली धावक सहभागी हुनेछन् ।
प्रतियोगिता धाप–पिके डाँडा–नाम्चे–गोकियो हुँदै सगरमाथा आधार शिविर पुगेर सोही स्थान हुँदै धावकको टोली धाप नै फर्कने छन् ।
सर्वोच्च शिखर सगरमाथा क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय धावकहरूलाई दौडाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ ।
विदेशीहरूले यो लामो म्याराथनको भिडिओ डकुमेन्ट्री निर्माण गरी विश्वका महत्वपूर्ण च्यानलहरूमा प्रसारण गर्ने अध्यक्ष शेर्पाले बताए ।
कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रिय स्तरको दौड आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।