
पूर्णपुष्टि,माघ ३०
कोरोना भाइरस कोभिड–१९ को संक्रमणमुक्त हुनेको संख्या विश्वमा आठ करोर नाघेको छ । १४ महिनाअघि सुरु भएको कोरोना संक्रमितको उपचारका लागि औषधि तयार भइनसकेता पनि उपचार विनै तथा लक्षणअनुसारको उपचारबाट आठ करोडभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् । यो कुल संक्रमित संख्याको ७४ प्रतिशत भन्दा पनि धेरै हो ।
विश्वका सबैजसो ठाउँमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म १० करोड ८३ लाख ३५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
यस्तै संक्रमितमध्ये २३ लाख ७९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । यो कुल सङ्क्रमितमध्ये दुई प्रतिशतभन्दा केही बढी हो । ज्यान गुमाउनेमध्ये धेरैजसो पाको उमेर, दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु रहेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
अहिले विश्वमा २ करोड ५४ लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने तीमध्ये भण्डै १ लाख गम्भीर बिरामी रहेका सङ्गठनले जनाएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसविरुद्ध खोप तयार भएर अहिले विश्वका धेरै देशमा खोप अभियान चलिरहेको छ । लामो लकडाउन तथा प्रतिबन्धहरू झेल्न बाध्य बनाएको कोरोना महामारीको प्रभाव अहिले सामान्य बन्दै गएको छ ।
