
पूर्णपुष्टि / उदयपुर, असोज १२
गाईघाट । विश्व रेबिज दिवसको अवसरमा त्रियुगा नगरपालिकाले कुकुर तथा बिरालोलाई लक्षित गरी निःशुल्क रेबिज खोप कार्यक्रम सञ्चालन गरिएको छ ।
त्रियुगा नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कार्यक्रम सेप्टेम्बर २८ रेबिज विरुद्धको सचेतनाका लागि आयोजना गरिएको पशु शाखा प्रमुख इन्द्र नारायण चौधरी ले बताए । रेबिज रोगको जोखिम न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले घरपालुवा तथा सामुदायिक कुकुर–बिरालोलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाइने चौधरीले बताए।
यस वर्षको विश्व रेबिज दिवसको नारा “एकतामा शक्ति, रेबिजबाट मुक्ति” (Stronger Together) रहेको छ। रेबिज रोकथामका लागि नियमित खोप लगाउने, पशुलाई सुरक्षित रूपमा राख्ने तथा रेबिजसम्बन्धी जोखिम देखिएमा समयमै स्वास्थ्य तथा पशु सेवा निकायमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।
“रेबिज रोकथामका लागि खोप लगाऔँ, सुरक्षित समाज निर्माण गरौँ” भन्ने सन्देशसहित कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
