
पूर्णपुष्टि, भदौ १३
लगतारको अविरल बर्षाका कारण वुटवलमा गएको पहिरोले ७ घर पुरिनुका साथै ५० घरमा क्षती पुराएको छ । पहिरोका कारण बुटवल बजार नै जोखिममा परेको छ । बुटवलको ज्योतिनगरमा चुरे पहाडबाट सोमवार पहिरो खस्दा घर पुरिएको र क्षती भएको हो ।
पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको छ । पहिरोबाट विस्थापित धेरैजसो आफन्तको आश्रय लिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको र अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।
ज्योतिनगर क्षेत्रलाई उपमहानगरले असुरक्षित क्षेत्र घोषणा गरी सुरक्षित हुन आग्रह गरेको तर अटेर गर्दा क्षति भएको प्रवक्ता रेग्मीले बताए । ज्योतिनगरमा २३ वर्षअघि पनि पहिरो जांदा ५७ घरमा क्षति भएको थियो र पहिरोबाट विस्थापितलाई बुटवलको तामनगरमा स्थानान्तरण गरिएको थियो ।
पहिरो नरोकिए बुटवलको गोलपार्क र ट्राफिकचोक क्षेत्रसम्म क्षति पुग्न सक्ने जोखिम बढेको वातावरणविज्ञहरुले आशंका गरेका छन् । भूगोल विषयका प्राध्यापक डा. भोजराज कडेरियाले बुटवलको ज्योतिनगर पहिरोको उच्च जोखिमयुक्त क्षेत्र भएकाले त्यहांको वस्ती स्थानान्तरण नै उपयुक्त विकल्प हुने सुझाउँछन् ।
