Sunday, May 17News That Matters

समयमै कक्षा १२ को परिक्षा हुन नसक्दा बाहिर पढ्न जाने विद्यार्थीहरु रोकिए

पूणर्पुष्टि, भदौ १३

समयमै कक्षा १२ को परिक्षा हन नसकेपछि विदेश पढ्ने तयारीमा रहेको विद्यार्थीहरुलाई समस्या भएको छ । १२ को परिक्षा सकेर विदेश पढ्ने तयारीका विद्यार्थीहरु अहिले समस्यामा परेको हो ।

कोरोनाका कारण पटक पटक परिक्षा स्थगित भएपछि विद्यार्थीहरुको तयारी सफल हुन नसक्दा विद्यार्थीहरुलाई चिन्ता बढेको छ । बिभिन्न विषयका लागि कक्षा १२ पछि विदेश पढ्ने तयारीका विद्यार्थीहरुले चिन्ता व्यक्त गरेको छ । अमेरिकामा नर्सिङ पढ्न जाने तयारीमा रहेकी निर्भाना महतले कक्षा १२ को परीक्षा नभएकै कारण आफ्नो एक वर्ष खेर जाने जोखिम बढेको बताइन् । ‘कन्सल्टेन्सीले यो महिनाभित्र परीक्षा भयो भने मिल्छ, नभए अर्को वर्ष मात्रै मिल्छ भनेको छ’ उनले भनिन् ।

अरु तहको परीक्षा भइरहे पनि १२ कक्षाको मात्रै परीक्षा रोक्दा धेरै विद्यार्थी मारमा परेको निर्भाना बताउँछिन् । ‘अब पनि परीक्षा भएन भने विदेश पढ्न जान चाहनेको धेरैको वर्ष खेर जान्छ’ उनी भन्छिन् ।

विदेशमा पढ्न जाने तयारीमा रहेकी मन्दिरा केसी पनि कक्षा १२ को परीक्षा कुरेर बसेकी छन् । परीक्षा नभई विदेशका विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिन नमिल्ने भएपछि उनी समस्यामा परेकी छन् ।

राजनीतिशास्त्र पढ्न अमेरिका अथवा जर्मनी जाने योजना बनाएकी उनले यो वर्ष आवेदन दिएपछि अर्को वर्ष मात्रै पढ्न पाउँछिन् । अर्को वर्ष पढ्नको लागि नोभेम्बर महिनासम्म परीक्षाको नतिजा र प्रमाणपत्र पाइसक्नुपर्छ । नभए उनको एक वर्ष खेर जानेछ ।

‘परीक्षा छिटो भयो भने ट्रान्सक्रिप्ट पनि छिटो आउने हो । अहिलेसम्म परीक्षा कहिले हुने थाहा छैन । कहिले परीक्षा हुने, कहिले डकुमेन्ट तयार भएर हामीले पाउने डरै छ’ मन्दिराले भनिन् ।

प्राज्ञी श्रेष्ठ अमेरिका बायोलोजी पढ्न जाने तयारीमा छिन् । तर कक्षा १२ परीक्षा नहुँदा समस्या भइरहेको छ । उनले अहिले कक्षा ११ को नतिजा र कक्षा १२ को आन्तरिक मूल्यांकन नतिजाको आधारमा आवेदन दिन त पाउँछिन् तर कक्षा १२ को अन्तिम परीक्षाको नतिजाले धेरै फरक पार्छ ।

विदेश पढ्न जानेहरुका लागि अहिले विश्वविद्यालय खोज्ने समय हो । तर परीक्षाको मिति तय नहुँदा विश्वविद्यालयबारे खोज्न, बुझ्न नपाएको प्राज्ञी बताउँछिन् । भन्छिन् ‘अहिले हामीले पढ्ने विषय, युनिभर्सिटी खोज्ने, बुझ्ने समय हो । कत्ति धेरै पढनुपर्ने, बुझ्नुपर्ने हुन्छ त्यो सबै बुझेपछि बल्ल अप्लाई गर्ने हो । तर इक्जाम (परीक्षा) नै कहिले हुने थाहा छैन । १२ कै परीक्षाको लागि रिभिजन गर्दै बसिरहनुपरेको छ ।’ परीक्षा हुन ढिलाइ भएका कारण आफूले चाहेको विश्वविद्यालय पढ्न नपाउने हो कि भन्ने चिन्ता लागेको प्राज्ञी बताउँछिन् ।

कोरोना भाइरसको महामारीका कारण विदेश पढ्न जाने धेरै विद्यार्थीलाई असर गरेको नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे बताउँछन् । सामान्यता विदेशका विश्वविद्यालयहरुले अगष्ट-सेप्टेम्बर र जनवरी-फेब्रुअरी गरी दुई पटक भर्ना लिने गरेका छन् ।

गत जेठ २६ गते हुने तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारी फेरि बढ्न थालेपछि सरकारले स्थगित गरेको थियो । त्यसपछि पुनः साउन ३१ गतेदेखि तय भएको परीक्षा पनि कोरोना महामारीकै जोखिमका कारण स्थगित भयो ।

दोस्रो पटक परीक्षा स्थगित भएको तीन हप्ता बितिसक्दा पनि राष्ट्रिय परीक्षा बोर्डले अर्को परीक्षा मिति तोक्न सकेको छैन ।