Thursday, June 18News That Matters

वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुवई पठाइनिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

पूर्णपुष्टि,जेष्ठ २४ । काठमाण्डौ उपत्यकामा वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुवई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय काठमाण्डौका अनुसार पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई काठमाण्डौमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका–१० घर भई काठमाण्डौ बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की रहेका छन् ।

तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै पाँच लाख ठगी गरेको आरोपमा आज बुधवार नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बबरमहलबाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।