Thursday, May 21News That Matters

पहिचान पक्षधरसँग वार्ताका लागी समिति गठन

पूर्णपुष्टि, जेष्ठ २४ । कोशी प्रदेश नाम विरुद्ध प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरसँग वार्ताका लागी समिति गठन गरिएको छ । एमाले नेतृत्व सरकार अल्पमतमा परे लगतै मुख्यमन्त्री हिक्मत कार्कीले तिन सदस्यीय वार्ता समिति गठन गरेका हुन् ।

मंगलबार नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिए लगत्तै बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले समिति गठन गरेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । वार्ता समितिमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वो नेतृत्वको समितिमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला सदस्य छन् ।

गत फागुन १७ गते मुख्यमन्त्री हिक्मत कार्कीले दुई तिहाई मतका साथ प्रदेश सभाबाट १ नं प्रदेशको नाम ‘कोशी’ पारित गरेका थिए । कोशी प्रदेश नामाकरण भएसँगै पहिचान पक्षधरहरुले असन्तुष्टी जनाउँदै आएका छन् । उनिहरुले कोशी प्रदेश खारेज सहित पुन नामाकरणको माग राख्दै आएका छन् । विराटनगरमा भएको आन्दोलनमा पदम लिम्बुले ज्यान गुमाएका छन् ।

प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठकमा प्रदेशसभाका सदस्यहरुले पक्षधरसँग तत्काल वार्तामा आउन सरकारलाई दबाब दिएको थियो । भित्र बैठक चलिरहँदा बाहिर पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका थिए । पहिचान पक्षधरहरुले जेठ १४ गतेबाट प्रदेशसभा भवन केन्द्रित आन्दोलन घोषणा गरेका थिए । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले वार्तामा आउन आग्रह गरेका थिए भने अल्पमतमा परेपछि कार्कीले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गर्न लगाएर पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेका हुन् ।